पातारासीकाे आठौँ गाउँसभा सम्पन्न

१४ फागुन जुम्ला । पातारासी गाउँपालिकाको आँठौ गाउँसभाबाट ८ वटा ऐन कार्यविधि पारित भएका छन् । पालिकाको सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन,आर्थिक सुशासन कायम राख्न तथा पूर्वाधार विकास देखि शैक्षि व्यवस्थापनका लागि एक वटा ऐन र ७ वटा विभिन्न कार्यविधि गरी ८ वटा ऐन र कार्यविधि पारित भएका हुन् । आठौँ गाउँसभाले पातारासीको प्राकृति संरक्षण देखि पर्यापर्यटन विकास प्रर्बद्धनका लागि वातावरण संरक्षण ऐन २०७८ पारित भएको पातारासीका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धितालले बताउनुभयो । उहाँका अनुसार ऐन कानुन कार्यविधि निर्माण संगै प्रभावकारी कार्यान्वयनले पालिकाका हरेक गतिविधि पारदर्शी हुने छन् ।

त्यस्तै आठौँ गाउँसभाबाट ७ वटा विभिन्न कार्यविधि पारि पास भएका छन् । जसमा विभिन्न योजनाको कन्टीजेन्सी रकम व्यवस्थापन कार्यविधि २०७८,शैक्षिक व्यवस्थापन कार्यविधि २0७८,मर्मत सम्भार कोष व्यवस्थापन कार्यविधि २०७८ लगायतका ७ वटा कार्यविधि पारित भएको प्रमुख प्रशासकिय अधिकृत धितालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“कन्टीजेन्सी बापतको बजेट सहि ठाउँमा कार्यान्वयन भएको देखिन्न । कार्यालयको भैपरी खर्च भएपनि सिंहो बजेट कहाँ जान्छ ? प्रति योजनाबाट काँटेको कन्टीजेन्सी रकम कुन ठाउँ लगानी हुन्छ ? भनेर धेरै प्रश्न आउँछ । हामीले कार्यविधिनै पास गरेर कन्टीजेन्सी रकम खर्चको मापदण्ड तय गरेका छौ ।”

वर्षको अन्तिममा सार्वजानिक सुनुवाई मार्फत आम नागरिकलाई कन्टीजेन्सी रकम कहाँ खर्च भयो भन्ने प्रष्ट गरिने धितालको भनाई छ । जुम्लाका अन्य स्थानीयतहले हाल सम्म कन्टीजेन्सीको रकम कसरी खर्च गर्ने भन्ने बारे ठोस नीति बनाएका छैनन् । कार्यालयको खर्च देखि अतिथिी सत्कार,खाना खर्च जस्ता ठाउँमा फजुल खर्च हुने गरेको छ । तर पातारासीले यस्ता फजुल खर्चलाई मितव्यायी बनाउन कन्टीजेन्सी रकम व्यवस्थापन कार्यविधि २०७८ पारित गरेको हो ।

त्यस्तै पातारासीको शैक्षिक अबस्था दयनिय छ । शैक्षिक क्षेत्रको लागि कुनै ठोस नीति छैन् । त्यसैले शैक्षिक व्यवस्थापन कार्यविधिक २०७८ पारित भएको छ । पातारासीका अध्यक्ष लक्षिमन बोहोराले कार्यविधि मार्फत पातारासीको शैक्षिक सुधारमा योजनागत रुपमा अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“पातारासीको साक्षरता दर ४० देखि ४५ प्रतिशत छ । बाँकी नागरिक अझै निरक्षर छन् । जडिबुटी टिप्ने,कालापहाड जाने,बालबिवाह गर्ने यहाँको मुख्य समस्या हो । शैक्षिक व्यवस्था कार्यविधि मार्फत यस्ता सबै समस्याको न्युनिकरण गरी गुणस्तरीय शिक्षा प्रदानमा पालिकाले जोड दिने छ ।”

आठौँ गाउँसभाबाट पारित भएका ८ वटा ऐन कानुन संगै पातारासी गाउँपालिकाले हाल सम्म जम्मा १७ वटा ऐन कानुन पारित गरेको पालिकाको तथ्यांकमा उल्लेख छ । भने, पछि जुम्लाका सबै स्थानीयतहले शिक्षा,स्वास्थ्य,रोजगार,कृषि,पूर्वाधार,संस्कृति संरक्षण लगायतका विषयमा ऐन कानुन निर्माण गरेका छन् ।